काठमाडौं, चैत ११ – आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीको वार्षिक साधारण सभा बस्दैछ। सभामा सहभागी हुने कम्पनीहरू युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स रहेका छन्। युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ भने अन्य […]
काठमाडौं, चैत ११ – आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीको वार्षिक साधारण सभा बस्दैछ। सभामा सहभागी हुने कम्पनीहरू युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स रहेका छन्।
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ भने अन्य दुई कम्पनीका लगानीकर्ताहरू भने लाभांश प्राप्तिबाट वञ्चित हुनेछन्।
कम्पनीको वार्षिक साधारण सभा आज बिहान ११ बजे पोखरा, कास्कीस्थित आभ्या क्लब, घारीपाटन–१७ मा सुरु हुनेछ। सभामा सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।
त्यसैगरी, कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गरिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ।
यसअघि कम्पनीले फागुन २३ गते बुक क्लोज गरिसकेकोले, फागुन २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सुरु हुनेछ। बैंकले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव राखेको छैन, किनकि यसअघि नै आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश नदिने निर्णय गरिसकेको छ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहमाथि छलफल हुनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि राखिएको छ।
यसबाहेक, अन्य बैंक–वित्तीय संस्थासँग मर्जर वा अधिग्रहण (एक्विजिशन) सम्बन्धी कार्य गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
बैंकले फागुन २९ गते बुक क्लोज गरिसकेकोले, फागुन २८ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।
गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बिहान ११ बजे विराटनगरस्थित होटल एयरपोर्टमा सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका विषयमा छलफल गरिनेछ।
साथै, अन्य उपयुक्त इन्सुरेन्स कम्पनीहरूसँग मर्जर वा अधिग्रहण सम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
सभाले दुई जना सञ्चालक नियुक्त गर्नेछ भने लेखापरीक्षकको नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि छलफल गरिनेछन्। कम्पनीले यस वर्ष लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेको छैन।
यसअघि कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेकोले, फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.