इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन

इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातपछि उनलाई नयाँदिल्लीको द्वारकास्थित एक अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्। उनी नयाँदिल्लीमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएको र परिवार तथा आफन्तबाट निधनको खबर प्राप्त भएको चलचित्र निर्माता राजेश घतानीले जानकारी दिएका छन्। गायक […]

इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातपछि उनलाई नयाँदिल्लीको द्वारकास्थित एक अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनी नयाँदिल्लीमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएको र परिवार तथा आफन्तबाट निधनको खबर प्राप्त भएको चलचित्र निर्माता राजेश घतानीले जानकारी दिएका छन्। गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जालमार्फत तामाङको निधनको खबर सार्वजनिक गरेका छन्। दार्जिलिङमा रहेका संगीतकर्मीहरूबाट खबर पाएपछि मात्र आफूलाई जानकारी भएको खरेलले उल्लेख गरेका छन्।

प्रशान्त तामाङले सीमाना र नागरिकताको दायरा नाघेर सम्पूर्ण नेपाली भाषी समुदायको प्रतिनिधित्व गरेको खरेलको भनाइ छ। “उहाँले भारतको उत्तर–पूर्व मात्र होइन, संसारभर छरिएर रहेका नेपाली भाषीहरूको आवाज बन्नुभयो,” खरेलले भनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उनको निधन भएको हो। निधनअघि कुनै गम्भीर स्वास्थ्य समस्या नदेखिएको बताइएको छ।

सन् १९८३ जनवरी ४ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङ सामान्य परिवारबाट राष्ट्रियस्तरको चर्चामा आएका कलाकार हुन्। सानै उमेरमा बाबु गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनी कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा कार्यरत थिए र प्रहरी ब्यान्डमा गीत गाउने गर्थे।

सन् २००७ मा इन्डियन आइडल सिजन–३ को अडिसनपछि उनको जीवनले नयाँ मोड लियो। अन्ततः प्रतियोगिता जित्दै उनले भारतसहित विश्वभरका लाखौं दर्शक–स्रोताको मन जिते। “आज ठूला स्टेजमा गाउने नेपाली गायकहरूले रियालिटी शोसम्म पुग्ने हिम्मत प्रशान्तकै कारण पाएका हुन्,” निर्माता घतानीले सम्झिए।

इन्डियन आइडल जितेपछि उनको सफलता गोर्खा तथा नेपाली भाषी समुदायका लागि गर्वको विषय बनेको थियो। त्यसपछि उनले थुप्रै एल्बम सार्वजनिक गरे। संगीतसँगै अभिनयमा पनि सक्रिय तामाङले नेपाली चलचित्र ‘गोर्खा पल्टन’ मार्फत दर्शकको मन जिते। पछिल्ला दिनमा उनले भारतीय वेब सिरिज ‘पाताल लोक’ सिजन–२ र सलमान खानको फिल्म ‘बैटल अफ गलवान’ मा समेत अभिनय गरेका थिए।

‘बैटल अफ गलवान’ मा सँगै काम गरेका अभिनेता अनुप बिक्रम शाहीले तामाङलाई मिलनसार, प्रतिभाशाली र बहुआयामिक कलाकारका रूपमा सम्झिएका छन्। “केही महिनाअघि मात्रै भेट भएको थियो, यो खबर अझै पत्याउन सकिरहेको छैन,” उनले भने।

प्रशान्त तामाङ पत्नी र एक छोरीलाई छाडेर गएका छन्। उनी दिल्लीको जनकपुरीमा बसोबास गर्दै आएका थिए। स्रोतका अनुसार उनकी सासुआमाले सबैभन्दा पहिले निधनको जानकारी पाएकी थिइन् र इन्डियन आइडलका साथी अमित पॉललाई खबर गरेकी थिइन्। पछि अमित पॉलले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेपछि तामाङको निधनको खबर बाहिरिएको हो।

नेपाली संगीत र कला क्षेत्रका लागि प्रशान्त तामाङको निधन एक अपूरणीय क्षति बनेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In