एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि आवेदन दिने मिति चैत १० गतेसम्म तोकेको भएपनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन आजै बन्द गर्न लागिएको हो। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख […]
एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि आवेदन दिने मिति चैत १० गतेसम्म तोकेको भएपनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन आजै बन्द गर्न लागिएको हो।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो।
निष्काशन गरिएको शेयरमध्ये:
५० प्रतिशत (२ लाख ३५ हजार कित्ता) उच्च प्रभावित क्षेत्र अन्तर्गत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दालाई छुट्याइएको छ।
३० प्रतिशत (१ लाख ४१ हजार कित्ता) मध्यम प्रभावित क्षेत्र अन्तर्गत सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दालाई बाँडफाँट गरिनेछ।
बाँकी २० प्रतिशत (९४ हजार कित्ता) न्यून प्रभावित क्षेत्र अन्तर्गत रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दालाई छुट्याइएको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP Double B Minus (BB-) Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
एपोलो हाइड्रोपावरले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको आधारमा १६.४३ वर्ष लाग्ने अनुमान गरिएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरुले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय (ओखलढुङ्गा), लक्ष्मी सनराइज बैंकका किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्बा (ओखलढुङ्गा) शाखा तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखाबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर आवेदन फाराम लिनका लागि दरखास्त फाराम शुल्क २ रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.