जर्मनी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर भन्सार नीतिका कारण युरोजोनको आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पर्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ब्याजदर फेरि घटाएको छ। ईसीबीका नीति निर्माता टोलीले लगातार छैटौं पटक ब्याजदर कटौती गर्दै एकल मुद्रा क्षेत्र (युरोजोन) का लागि उधारो लागत घटाउने निर्णय गरेका हुन्। यसपटक ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाइएको छ, […]
जर्मनी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर भन्सार नीतिका कारण युरोजोनको आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पर्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ब्याजदर फेरि घटाएको छ।
ईसीबीका नीति निर्माता टोलीले लगातार छैटौं पटक ब्याजदर कटौती गर्दै एकल मुद्रा क्षेत्र (युरोजोन) का लागि उधारो लागत घटाउने निर्णय गरेका हुन्। यसपटक ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाइएको छ, जसले ईसीबीको बेंचमार्क डिपोजिट दरलाई २.२५ प्रतिशत मा झारेको छ — यो दर सन् २०२३ यता कै सबैभन्दा न्यूनतम हो।
मुद्रास्फीतिले ईसीबीको २ प्रतिशत लक्ष्यतर्फ फर्कन थालेपछि ब्याजदर घटाउने क्रम सुरु गरिएको हो। तर, ईसीबीले भनेको छ कि व्यापारिक तनावहरू बढ्दै गएका कारण आर्थिक वृद्धि संकटमा पर्न सक्छ।
ईसीबीले मार्चमा भएको अन्तिम बैठकपछि ब्याजदर कटौती रोक्ने तयारी गरिरहेको थियो। तर, ट्रम्पको भन्सार शुल्कको अनिश्चित नीतिले केन्द्रीय बैंकलाई निर्णय परिवर्तन गर्न बाध्य बनायो।
आईएनजी बैंकका विश्लेषक कास्र्टन ब्रजेस्कीका अनुसार, यो कटौती “त्यति धेरै अचम्मको होइन।” उनले ईसीबीले ‘विचारपूर्वक र सावधानीपूर्वक’ ब्याजदर घटाइरहेको भए पनि यस्तो प्रवृत्तिले पछाडि पर्न सक्ने जोखिम बढाएको बताए।
ईसीबीका नीति निर्माताहरू अझै निश्चित छैनन् कि ट्रान्स–अटलान्टिक व्यापारमा कुन भन्सार दर लागू हुनेछ, र त्यसले युरोजोनको अर्थतन्त्रमा कस्तो असर पार्न सक्छ।
अमेरिकाले आयातमा १० प्रतिशतको आधारभूत भन्सार दर लागू गर्नुका साथै, स्टिल, एलुमिनियम र अटोमोटिभ क्षेत्रमा २५ प्रतिशत कर लगाएको छ। यद्यपि ट्रम्पले वैश्विक बजारलाई ‘लिबरेशन डे’ घोषणा गरेर तर्साए पनि, युरोपेली संघसहित कैयौं देशहरूका लागि ९० दिनको भन्सार छुट घोषणा गरेका छन्।
यसबाहेक, ह्वाइट हाउसले चिप्स र औषधिजन्य सामग्रीहरू (फार्मास्युटिकल्स) मा पनि मूल्यांकन सुरु गरेको छ, जसले युरोजोनमा थप भन्सार लगाइने संकेत दिन सक्छ।
ईसीबीले आफू “असाधारण अनिश्चितता” को सामना गरिरहेको भन्दै, आगामी निर्णयहरू डाटामा आधारित र बैठकअनुसार फरक हुने जनाएको छ। अनिश्चितताले घरपरिवार र व्यवसायहरूमा विश्वासको कमी ल्याउने, र मूल्यवृद्धि र वित्तीय तनाव बढाउने जोखिम रहेको ईसीबीको भनाइ छ।
युनिक्रेडिटका विश्लेषकहरूले भनेका छन् कि यस्तो अवस्थामा अर्थतन्त्रलाई राहत दिन अर्को ब्याजदर कटौती स्वाभाविक देखिन्छ। उनीहरूका अनुसार, ट्रम्पका उच्च भन्सार दरका प्रभावले युरोजोनको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको खर्च प्रोत्साहन योजनालाई पनि छायाँमा पार्न सक्छ।
बर्लिनस्थित नयाँ सरकार सैन्य र पूर्वाधार क्षेत्रमा सयौं अर्ब युरोको अतिरिक्त खर्च गर्ने तयारीमा छ, जसले युरोपव्यापी आर्थिक प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.