काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिकाले वडाहरू नं ३ र ७ मा आवासीय घर बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सुरु भएको उक्त कार्यक्रममा उपमहानगर प्रमुख प्रशान्त विष्टले बीमित नागरिकहरूलाई बीमा प्रमाणपत्र प्रदान गर्दै औपचारिक सुरुआत गरेका हुन्। नगरप्रमुख विष्टका अनुसार, यस कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुर्याउनेछ। विशेष गरी न्यून आय […]
काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिकाले वडाहरू नं ३ र ७ मा आवासीय घर बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सुरु भएको उक्त कार्यक्रममा उपमहानगर प्रमुख प्रशान्त विष्टले बीमित नागरिकहरूलाई बीमा प्रमाणपत्र प्रदान गर्दै औपचारिक सुरुआत गरेका हुन्।
नगरप्रमुख विष्टका अनुसार, यस कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुर्याउनेछ। विशेष गरी न्यून आय भएका परिवारहरूलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए। “भूकम्प, बाढी, डुबान र आगलागीबाट हुने सम्भावित क्षतिमा यसले ठूलो राहत दिन सक्छ,” विष्टले भने।
कार्यक्रमको पहिलो चरणमा वडा नं ३ का १०९ र वडा नं ७ का ४२ घर गरी जम्मा १५१ घर समावेश गरिनेछ। यी दुबै वडामा करिब ७५० घर छन्। विपद् जोखिम न्यूनीकरणका लागि ‘विपद् जोखिमसम्बन्धी कार्यविधि २०८०’ समेत तयार पारिएको नगरप्रमुख विष्टले बताए।
विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहका अनुसार, जोखिमग्रस्त क्षेत्रका वडामा आवासीय बीमा कार्यक्रम अगाडि बढाइएको हो। उपमहानगरपालिकाले १५ लाख रुपैयाँसम्मको आवासीय बीमाको प्रिमियम शुल्क स्वयं व्यहोर्नेछ भने त्योभन्दा बढी रकमको बीमा गर्न चाहनेले बाँकी प्रिमियम आफैं तिर्नुपर्ने व्यवस्था गरिएको छ। १५ लाख रुपैयाँको बीमा गर्दा वार्षिक प्रिमियम ५८४ रुपैयाँ पर्ने बताइएको छ।
यस बीमा कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ। कम्पनीका नेपालगञ्ज शाखा प्रबन्धक नवीन शर्मा पौडेलका अनुसार, बीमित घरहरूमा मृत्यु, घाइते वा भौतिक क्षतिको अवस्थामा छुट्टाछुट्टै बीमाको व्यवस्था गरिएको छ।
वडा नं ३ र ७ मा घरहरूको घनत्व उच्च, सडक साँघुरा, र बस्ती पुराना भएका कारण त्यहाँ विपद् जोखिम बढी रहेको उपमहानगरपालिकाले जनाएको छ। सोही कारणले त्यही क्षेत्रबाट बीमा कार्यक्रम सुरु गरिएको हो। यस क्षेत्रमा अहिले ‘सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर)’ पनि सञ्चालनमा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.