काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाललाई लगानीका लागि अत्यधिक सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रित गर्दै गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन २०२५, जसलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले आयोजना गरेको थियो, उक्त कार्यक्रममा मन्त्री भण्डारीले नेपाल सरकार लगानीको सुरक्षा तथा अनुकूल वातावरण निर्माण […]
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाललाई लगानीका लागि अत्यधिक सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रित गर्दै गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन २०२५, जसलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले आयोजना गरेको थियो, उक्त कार्यक्रममा मन्त्री भण्डारीले नेपाल सरकार लगानीको सुरक्षा तथा अनुकूल वातावरण निर्माण गर्न पूर्णतः प्रतिबद्ध रहेको बताएका छन्।
उनले भने, “नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाइसकेका छौँ, र यसलाई अझ सहज बनाउन सरकार तयार छ। कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रमा लगानी गर्न आउनुस्, सरकार पूर्ण सहयोग गर्नेछ।”
मन्त्री भण्डारीले आफ्नो कार्यकालमा व्यापार, व्यवसाय तथा औद्योगिक क्षेत्रमा थुप्रै सकारात्मक र महत्त्वपूर्ण कामहरू भएको उल्लेख गर्दै, निर्धक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे। साथै, सरकारले आवश्यक कानुनी संरचना निर्माण गरिसकेको र त्यसकै आधारमा पछिल्लो समय उद्योग तथा व्यापार क्षेत्रमा उल्लेखनीय लगानी भइसकेको जानकारी दिए।
उनका अनुसार, नेपालमा उत्पादित वस्तुहरू सहजै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले दक्षिण एसियामा भारतपछि नेपाल लगानीका लागि प्रमुख गन्तव्य बन्न सक्नेछ।
कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील ज्ञवालीले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए।
त्यस अवसरमा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, लगानी बोर्डका उपसचिव हिमालचन्द्र अर्याल, डा. बद्री केसी, टीका गुरुङ (राधिका), गोविन्द खरेल, घनश्याम पाण्डे लगायतले आफ्नो प्रस्तुतीकरण दिएका थिए।
Share your thoughts to keep the conversation going.
Be the first to comment.