काठमाडौं: बैंकहरूको कुल निक्षेप ६७ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीको निक्षेप ६७ खर्ब ४ अर्ब रुपैयाँमा पुगेको छ। यस अवधिमा समग्र कर्जा प्रवाह भने ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। निक्षेप बढे पनि कर्जा लगानीको गति सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ। यही समस्यालाई समाधान गर्न […]
काठमाडौं: बैंकहरूको कुल निक्षेप ६७ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीको निक्षेप ६७ खर्ब ४ अर्ब रुपैयाँमा पुगेको छ। यस अवधिमा समग्र कर्जा प्रवाह भने ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। निक्षेप बढे पनि कर्जा लगानीको गति सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ। यही समस्यालाई समाधान गर्न राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ थप तरलता प्रशोचन गर्न लागेको छ।
बैंकिङ प्रणालीको विवरण
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको योगदान ५९ खर्ब ६९ अर्ब रुपैयाँ छ भने अन्य वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ३५ अर्ब रुपैयाँ छ। तर, कर्जा विस्तार अपेक्षाअनुसार हुन नसक्दा तरलता अधिक भएको हो। बैंक तथा वित्तीय संस्थाहरूले हालसम्म ५९ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमध्ये वाणिज्य बैंकहरूले ४७ खर्ब ९९ अर्ब र अन्य वित्तीय संस्थाहरूले ६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा उपलब्ध गराएका छन्।
बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ। हाल बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७९.४५ प्रतिशत छ, जसका आधारमा करिब ६ खर्ब २० अर्ब रुपैयाँ लगानीयोग्य रकम बैंकहरूमा उपलब्ध छ।
आन्तरिक सुस्तता र तरलता समस्या
बाह्य अर्थतन्त्र सुदृढ भए पनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्न सकेको छैन। रेमिटेन्स आप्रवाहमा सुधारले निक्षेपमा वृद्धि भए पनि कर्जा लगानी हुन नसक्दा वित्तीय प्रणालीमा तरलता बढी भएको छ। यस अवस्थामा बैंकहरूले राष्ट्र बैंकका अल्पकालीन उपकरणहरूमा लगानी बढाएका छन्।
केन्द्रीय बैंकको पहल
माघ १५ गते (आज) राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। यसअघि, माघ १३ गते राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिचेको थियो। अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल नझरोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले नियमित रूपमा तरलता प्रशोचन गर्दै आएको छ।
राष्ट्र बैंकले आजको निक्षेप संकलनको लागि दिउँसो २ बजे अनलाइन बोलकबोल आयोजना गर्ने जनाएको छ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको बोलकबोल गर्न सक्नेछन्। यो प्रक्रिया बहुब्याजदर प्रणालीमा आधारित हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै यस प्रक्रियामा सहभागी हुन पाउनेछन्। यस निक्षेप संकलनको सावाँ र ब्याज भुक्तानी आगामी फागुन ६ गते हुनेछ।
पछिल्ला तथ्यांकहरू
गत माघ १३ गते राष्ट्र बैंकले २१ दिने निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ खिचेको थियो, जसको औसत ब्याजदर २.९९ प्रतिशत रहेको थियो। माघ ९ गते गरिएको २१ दिने निक्षेप संकलनमा भने ९० अर्ब रुपैयाँ खिच्ने योजना भए पनि बैंकहरूले ७७ अर्ब ६५ करोड रुपैयाँ मात्र जम्मा गराएका थिए।
हालसम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट खिचेको रकम २ खर्ब ७९ अर्ब १० करोड रुपैयाँमा पुगेको छ। यसमध्ये २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत र ४८ अर्ब ०५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत परिपक्क हुन बाँकी छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.