नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना अब स्वदेशी लगानीकर्ताका लागि थप अवसरसहित अघि बढ्ने भएको छ। अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय व्यवस्थापन प्रस्ताव अनुसार, एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने तयारी गरिएको […]
नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना अब स्वदेशी लगानीकर्ताका लागि थप अवसरसहित अघि बढ्ने भएको छ। अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय व्यवस्थापन प्रस्ताव अनुसार, एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने तयारी गरिएको छ।
आयोजनाको निर्माण अवधिको ब्याज बाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहने अनुमान छ, भने ब्याजसहित लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँसम्क पुग्नेछ। यसमा ३०% स्वःपूँजी (७१ अर्ब ९४ करोड) र ७०% ऋण (१ खर्ब ६७ अर्ब ८५ करोड) संरचना प्रस्ताव गरिएको छ। सात वर्षको निर्माण अवधिमा वार्षिक ७% ब्याजदर रहने योजना छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अनुमोदन गर्दै सरकार समक्ष पेस गर्ने निर्णय गरेको छ। मन्त्री घिसिङले आयोजना स्वदेशी पूँजीमै अगाडि बढाउने उद्देश्यसहित एनआरएन, वैदेशिक रोजगारमा रहेका नेपाली, प्रभावित क्षेत्र तथा सर्वसाधारण सबैलाई समान अवसर दिने तयारी भइरहेको बताए।
कुल इक्विटीमा ५१% संस्थापक र ४९% साधारण शेयर रहनेछ। साधारण शेयरमध्ये १८% एनआरएन/वैदेशिक रोजगारमा रहेका नेपालीका लागि, १०% आयोजना प्रभावित क्षेत्रका लागि, १८% देशभरका सर्वसाधारणका लागि, २% पिछडिएको क्षेत्रका लागि र केही हिस्सा प्रवर्धक संस्थाका कर्मचारीका लागि छुट्याइएको छ।
आयोजनाको कर्जामा सहुलियतपूर्ण सहवित्तीयकरणमार्फत ४५% रकम (७५ अर्ब ५३ करोड) जुटाउने, ऊर्जा बन्डमार्फत ३०% (५० अर्ब ३६ करोड) संकलन गर्ने र बाँकी ४१ अर्ब ९६ करोड बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत जुटाउने प्रस्ताव छ।
व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्षमा २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। आठ वर्षसम्म ३% मूल्यवृद्धि भएको खण्डमा आयोजनाको वार्षिक आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। प्रारम्भिक पिपिए दर प्रतियुनिट ६.३ रुपैयाँ रहने र क्रमिक मूल्यवृद्धिपछि औसत प्रतियुनिट ७.८ रुपैयाँ हुने अपेक्षा गरिएको छ।
वर्षेनि ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना हाल निर्माण–पूर्व चरणमा छ। निर्माणस्थललाई जोड्ने २१ किलोमिटर पहुँच सडक र अरुण नदीमा ७० मिटरको स्टील आर्क पुल निर्माणाधीन छ। कोशी राजमार्गबाट आयोजनास्थल पुग्ने महत्वपूर्ण संरचनाहरू तीव्र गतिमा अगाडि बढाइएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.