रिलायन्स स्पिनिङ्गको आईपीओ आजदेखि खुला

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले अब आम लगानीकर्तालाई सेयरमा सहभागी हुने अवसर दिएको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको सेयरमध्ये ५७ हजार ७९८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख […]

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले अब आम लगानीकर्तालाई सेयरमा सहभागी हुने अवसर दिएको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको सेयरमध्ये ५७ हजार ७९८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर निष्काशन गरेको छ। सेयरको अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ्ग प्रक्रियाबाट निर्धारण भएको प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ।

संस्थागत लगानीकर्ताका लागि कटअफ मूल्य ९१२ रुपैयाँ तोकिएको थियो, जसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि मूल्य निर्धारण गरिएको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्म पूरा आवेदन नपरेमा पुस २१ गतेसम्म समय थपिनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल ए माइनस (CARE-NP A-) रेटिङ्ग दिएको छ, जसले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता रहेको संकेत गर्छ।

रिलायन्स स्पिनिङ्ग मिल्स नेपालका प्रमुख धागो उत्पादन उद्योगमध्ये एक हो र देशकै ठूलो रोजगारी दिने उद्योगहरूमध्ये पर्छ। कम्पनीले उत्पादन गरेको ७०–७५ प्रतिशतभन्दा बढी धागो भारत, टर्की, भियतनाम, यूके लगायतका देशमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन्।

कम्पनीको मुख्य उद्योग इटहरी–१२, खनारमा रहेको छ भने शाखा उद्योग इटहरी–४, दुहाबीमा सञ्चालनमा छ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १०.६१ वर्ष रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In