विकाश हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जेठ ६ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले कुल रु. ९० करोड ९१ लाख १ हजार ३०० को जारी पूँजीमध्ये ४९ प्रतिशत अर्थात् रु. ४४ करोड ५४ लाख ५९ हजार ६०० बराबरको […]
विकाश हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जेठ ६ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले कुल रु. ९० करोड ९१ लाख १ हजार ३०० को जारी पूँजीमध्ये ४९ प्रतिशत अर्थात् रु. ४४ करोड ५४ लाख ५९ हजार ६०० बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको हो।
यस मध्ये ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता अति प्रभावित क्षेत्र (गोरखा, धार्चे गाउँपालिका वडा नं. ४ र ५) का बासिन्दालाई र ५ लाख ४५ हजार ४६१ कित्ता प्रभावित क्षेत्र (धार्चे गाउँपालिका वडा नं. १, २, ३, ६ र ७) का बासिन्दालाई बाँडफाँट गरिनेछ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर निष्काशन गरिएको छ, जुन कुल सार्वजनिक निष्काशनमध्ये १० प्रतिशत हो।
कम्पनीले कर्मचारीहरुका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर सुरक्षित राखेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक गरिनेछ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने उक्त आईपीओमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ प्रदान गरेको छ, जसले औसत मात्राको जोखिम संकेत गर्दछ।
विकाश हाइड्रोपावर लिमिटेडले निर्माण तथा सञ्चालनमा ल्याएको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको छ। उक्त आयोजना सञ्चालनका लागि विद्युत उत्पादन अनुमति अवधी अझै ३० वर्ष ९ महिना बाँकी रहेको छ।
आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन प्रभु क्यापिटलको कार्यालय, आयोजनाको कार्यालय, प्रभु बैंक तथा हिमालयन बैंकका शाखा तथा प्रभु क्यापिटलको अनलाइन प्रणालीमार्फत दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। आयोजनाका प्रभावित बासिन्दाले दरखास्त फाराम बुझाउँदा २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.