शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि खुला

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (माघ ६ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सो मध्ये जारी पूँजीको १० प्रतिशत […]


शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (माघ ६ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो।

उक्त शेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। यो व्यवस्था वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रको आधारमा गरिएको कम्पनीले जनाएको छ।

यसका साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो। आवेदन दिन श्रम स्वीकृति अनिवार्य रहेको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ ९ गतेभित्र आवेदन दिनु पर्नेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि माघ २० गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र अवधि २९.०८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको छ। आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। दरखास्त फाराम प्राप्त गर्न प्रतिदरखास्त २ रुपैयाँ शुल्क लाग्नेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In