काठमाडौं : सुदूरपश्चिम प्रदेशमा बैंकहरूले दिएको विपन्न वर्ग कर्जा र सहुलियतपूर्ण कर्जा घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (सुदूरपश्चिम प्रदेश) वार्षिक प्रतिवेदनअनुसार, २०८१ असार मसान्तसम्म विपन्न वर्ग कर्जा १.३९ प्रतिशतले घटेर ११ अर्ब ५४ करोड पुगेको छ, जबकि गत वर्षको सोही अवधिमा यो कर्जा ३.० प्रतिशतले घटेको थियो। सहुलियतपूर्ण कर्जा भने २९.६२ प्रतिशतले घटेर ६ अर्ब ८१ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस कर्जा ८.३९ प्रतिशतले घटेको थियो।
समिक्षा अनुसार, २०८१ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक र वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप ११.३२ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब ४६ करोड ४३ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यो निक्षेप १६.०९ प्रतिशतले बढेको थियो।
त्यस्तै, कुल कर्जा ०.७५ प्रतिशतले वृद्धि भएर १ खर्ब ५२ अर्ब ८४ करोड ५९ लाख पुगेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा कर्जा प्रवाह र निक्षेप संकलनको हिसाबमा कैलाली जिल्ला अग्रस्थानमा रहेको छ।
समीक्षा वर्षमा सुदूरपश्चिम प्रदेशका बैंक र वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा १०.८१ प्रतिशत कृषि क्षेत्रमा र १६.७५ प्रतिशत उद्योग क्षेत्रमा रहेको छ। कृषि क्षेत्रमा कर्जा प्रवाह १.३१ प्रतिशत घटेर १६ अर्ब ५२ करोड ८५ लाख पुगेको छ भने उद्योग क्षेत्रमा कर्जा ४.७९ प्रतिशत घटेर २५ अर्ब ६० करोड १८ लाख पुगेको छ।
यस वर्षको अन्त्यसम्ममा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका ८५६ शाखाहरू सञ्चालनमा रहेका छन्।
समीक्षा वर्षमा प्रमुख कृषि बालीहरूको उत्पादनमा वृद्धि र केही बालीहरूको उत्पादनमा कमी आएको छ। दूध, मासु र अण्डा उत्पादनमा पनि वृद्धि भएको छ।
सुदूरपश्चिम प्रदेशको बजेटको चालु खर्चतर्फ ६६.५५ प्रतिशत र पुँजीगत खर्चतर्फ ६२.०६ प्रतिशत खर्च भएको छ।
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८४ करोडको हुने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर ३.५४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनको आकार ४ खर्ब ४ अर्ब २८ करोड रहने र आर्थिक वृद्धिदर ३.४१ प्रतिशत रहने अनुमान गरिएको छ।
Be the first to comment.