स्नो रिभर्स लिमिटेडको आईपीओ चैत ९ गतेदेखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये ९ करोड ३७ […]

स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ (अति प्रभावित क्षेत्र) का बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र अन्य प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिनेछ। प्रभावित क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दा पर्छन्।

यसका साथै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ छिटोमा चैत २३ गते र ढिलोमा २०८३ बैशाख ८ गते बन्द हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते निष्काशन बन्द हुनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ICRA-NP Issuer Rating Double B Plus प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि ३१ वर्ष २ महिना बाँकी रहेको छ।

यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना स्थल याम्फुदिन, नेपाल बैंकको सिरिजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक तथा ग्लोबल आइएमई बैंकको फुङलिङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In