कर्जा प्रवाह अन्य क्षेत्रहरूमा सुस्त देखिँदा सेयर धितो कर्जा भने तीव्र गतिमा बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म ८५ अर्ब ९५ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा चालु आवको सोही अवधिमा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। यो ४६ प्रतिशतको उल्लेखनीय वृद्धि हो। लगानीकर्ताहरूले व्यक्तिगत सेयर कर्जाको […]
कर्जा प्रवाह अन्य क्षेत्रहरूमा सुस्त देखिँदा सेयर धितो कर्जा भने तीव्र गतिमा बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म ८५ अर्ब ९५ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा चालु आवको सोही अवधिमा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। यो ४६ प्रतिशतको उल्लेखनीय वृद्धि हो।
लगानीकर्ताहरूले व्यक्तिगत सेयर कर्जाको १५ करोड रुपैयाँ सीमा हटाउनुपर्ने सुझाव दिइरहेका छन्, जबकि बैंकहरू संस्थागत सीमा (प्राथमिक पूँजीको ४०%) अन्तर्गत कर्जा प्रवाह गरिरहेका छन्। बैंकहरूको तर्क अनुसार, यदि संस्थागत सीमा यथावत छ भने व्यक्तिगत सीमा खुकुलो गर्नु उचित हुनेछ।
वाणिज्य बैंकहरूको हालको प्राथमिक पूँजी ५ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार, सो पूँजीको ४० प्रतिशत (करिब २ खर्ब २७ अर्ब) सम्म सेयर धितो कर्जा दिन सकिनेछ। हालसम्म १ खर्ब ३ अर्ब कर्जा प्रवाह भइसकेकाले अझै १ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाहको सम्भावना बाँकी रहेको छ।
तर नेपाल बैंक, नबिल, कुमारी, सिद्धार्थ र सिटिजन्स बैंकजस्ता पाँच वाणिज्य बैंकले सेयर कर्जाको ३० प्रतिशत सीमा पार गरिसकेका छन्। यस्तो अवस्थामा जोखिम नियन्त्रणमा विशेष सावधानी आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ।
सेयर धितो कर्जा लिनका लागि राष्ट्र बैंकले कडा मापदण्ड तोकेको छ। कम्पनीले वित्तीय हिसाबले सुदृढ, पारदर्शी र नियमन पालना गरेको हुनुपर्छ।
धितोका रूपमा मान्य नहुने सेयरहरू:
नेगेटिभ नेटवर्थ भएका कम्पनीका सेयर
सूचीकृत नभएका कम्पनीका सेयर
निरन्तर तीन वर्ष नोक्सानीमा रहेका
एक वर्ष लेखापरीक्षण नगरेका
तीन वर्षदेखि साधारण सभा नगरेका कम्पनीका सेयर
कर्जा दिने आधारमा, धितो सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा हालको बजार मूल्य (जुन कम छ) को अधिकतम ७० प्रतिशतसम्म कर्जा पाइन्छ। संस्थापक सेयरधनीको हकमा यो सीमा ५० प्रतिशतमा सिमित हुन्छ।
कर्जा अवधि अधिकतम १ वर्षको हुने र नवीकरण गर्न कर्जा नियमित हुनुपर्छ। सेयर मूल्य घटेमा बैंकले मार्जिन कल गर्न सक्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.