सूर्यकुण्ड हाइड्रोले IPO स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अवसर

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ मूल्यको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सोमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

उक्त शेयरमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको सीमा तोकिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस २३ गतेसम्म थपिनेछ।

आईपीओ निष्काशन प्रयोजनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी ‘BB–’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको कम्पनीले जनाएको छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २६ वर्ष बाँकी रहेको छ।

आयोजनामा गरिएको लगानी साधारण आधारमा ७.७१ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउण्ट गरिएको आधारमा लगानी फिर्ता अवधि १६ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेड टावर थापाथलीस्थित रजिष्टर्ड कार्यालय तथा दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In