हेटौँडा सिमेन्ट उद्योग चैत तेस्रो सातादेखि पुनः सञ्चालनमा

काठमाडौँ : लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ। उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णका अनुसार उद्योगका मेसिनको मर्मत सम्भार कार्य सम्पन्न भइसकेको छ। साथै, उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको सुनिश्चितता भईसकेको र कर्मचारीहरू पनि काममा फर्किन सहमत भएकाले उत्पादन पुनः सुरु गर्न […]

काठमाडौँ : लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ।

उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णका अनुसार उद्योगका मेसिनको मर्मत सम्भार कार्य सम्पन्न भइसकेको छ। साथै, उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको सुनिश्चितता भईसकेको र कर्मचारीहरू पनि काममा फर्किन सहमत भएकाले उत्पादन पुनः सुरु गर्न तयारी भइरहेको जानकारी दिनुभयो।

“उद्योगका पुराना तथा बिग्रिएका मेसिन मर्मत गर्न केही समय लागेको हो,” उहाँले भन्नुभयो, “स्थापनाकालमा जडान गरिएका पुराना मेसिनहरू विस्थापित गरी नयाँ मेसिन जडान गर्न आवश्यक देखिए पनि आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नभएकाले मर्मत गरेर उत्पादन पुनः सुरु गर्न लागिएको हो।”

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ मौज्दातमा रहेको र थप सामग्री आउने सुनिश्चितता भइसकेको उहाँले बताउनुभयो। “हाल उद्योगसँग करिब एक सय टन कोइला मौज्दातमा छ भने थप कोइला भोलिदेखि आउने तयारीमा छ,” उहाँले स्पष्ट पार्नुभयो। कोइलाको भुक्तानी सम्बन्धी समस्या समाधानका लागि सम्बन्धित कम्पनीसँग सहमति भईसकेको उहाँले जानकारी दिनुभयो।

उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्तिको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भईसकेको र प्राधिकरणले नियमित विद्युत् आपूर्तिको प्रतिबद्धता जनाएकाले अब विद्युत् समस्याले अवरोध सिर्जना नगर्ने उहाँले उल्लेख गर्नुभयो।

हेटौँडा सिमेन्ट उद्योगले उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। यस अवधिमा कर्मचारीहरूले तीन महिनादेखि तलब भत्ता प्राप्त गर्न सकेका थिएनन्।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ बाट सिमेन्ट उत्पादन सुरु गरेको थियो। आर्थिक समस्यालगायतका कारण उद्योगमा पटक–पटक अवरोध सिर्जना हुँदै आएको छ। उद्योगले गत २०८१ भदौको तेस्रो साताबाट पुनः उत्पादन सुरु गरे पनि मेसिन मर्मतका कारण पुनः असोज १५ गतेदेखि बन्द भएको थियो।

हेटौँडा सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १६ हजार बोरा रहेकाले उत्पादन पुनः सुरु भएसँगै बजारमा सिमेन्टको आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ।

4o

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In