चिनियाँ कम्पनी साओमीले चिप्स उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

बेइजिङ — चिनियाँ प्रविधि क्षेत्रको प्रमुख कम्पनी साओमीले स्मार्टफोनका लागि अत्याधुनिक चिप विकास गर्न ५० अर्ब युआन (झण्डै ६.९ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। स्मार्टफोनदेखि विद्युतीय सवारी र भ्याकुम क्लिनरसम्मका उपभोक्ता उपकरण उत्पादन गर्ने साओमी चीनको अग्रणी टेक कम्पनीमध्ये एक हो। कम्पनीको १५औं वार्षिकोत्सवका अवसरमा संस्थापक लेई जुनले सामाजिक सञ्जालमार्फत चिप निर्माणलाई […]

बेइजिङ — चिनियाँ प्रविधि क्षेत्रको प्रमुख कम्पनी साओमीले स्मार्टफोनका लागि अत्याधुनिक चिप विकास गर्न ५० अर्ब युआन (झण्डै ६.९ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। स्मार्टफोनदेखि विद्युतीय सवारी र भ्याकुम क्लिनरसम्मका उपभोक्ता उपकरण उत्पादन गर्ने साओमी चीनको अग्रणी टेक कम्पनीमध्ये एक हो।

कम्पनीको १५औं वार्षिकोत्सवका अवसरमा संस्थापक लेई जुनले सामाजिक सञ्जालमार्फत चिप निर्माणलाई साओमीको उच्च प्रविधिमा प्रवेश गर्ने नयाँ प्रयासको रूपमा प्रस्तुत गरे। उनले भने, “चिप निर्माण साओमीका लागि भविष्यको अत्याधुनिक प्रविधि अन्वेषणतर्फको मार्ग हो, त्यसैले यसको नयाँ सुरुआतमा हामी सम्पूर्ण प्रयास गर्नेछौं।”

साओमीले कम्तीमा १० वर्षसम्म निरन्तर चिप विकासमा काम गर्ने र त्यसका लागि ५० अर्ब युआन लगानी गर्ने योजना बनाएको छ। साओमीले सन् २०१७ मा आफ्नै पहिलो चिप ‘सर्ज एस १’ निर्माण गरे पनि प्राविधिक र वित्तीय चुनौतीका कारण उक्त परियोजना रोकिएको थियो। त्यसपछि कम्पनीले आफ्नो ध्यान अन्य उपभोग्य सामग्री र विद्युतीय सवारीमा केन्द्रित गरेको थियो।

“यो हाम्रो असफलता होइन, हाम्रो यात्रा यही बाटो भएर गएको हो,” लेईले भने। उनका अनुसार सन् २०२१ यता साओमीको चिप परियोजनामा २,५०० भन्दा बढी कर्मचारी संलग्न छन् र अनुसन्धान तथा विकासका लागि १३.५ अर्ब युआन विनियोजन गरिएको छ।

चीन र अमेरिका दुवैले उच्च प्रविधिमा आत्मनिर्भरता हासिल गर्न प्रतिस्पर्धा गरिरहेका बेला साओमीको यो घोषणा आएको हो। “साओमीले सधैं चिप निर्माणको सपना देख्दै आएको छ,” लेईले लेखेका छन्, “हामीलाई अझ समय र धैर्य आवश्यक छ, कृपया हाम्रो यात्रामा साथ दिनुहोस्।”

चीनका धेरै कम्पनीहरूले विदेशी प्रविधिमा निर्भरता घटाउने उद्देश्यले आफ्नै चिप विकासमा ध्यान दिइरहेका छन्। सन् २०२३ मा साओमी र प्रतिस्पर्धी कम्पनी हुवावेले चिपयुक्त उच्च प्रदर्शन स्मार्टफोन सार्वजनिक गरेका थिए, जुन प्राविधिक रूपमा विदेशी प्रविधिबिना सम्भव नहुने भन्दै विशेषज्ञहरूले अमेरिकी प्रतिबन्धको प्रभावमाथि प्रश्न उठाएका थिए।

उबिक नामक परामर्श कम्पनीका सीईओ पास्कल वियाउडले एएफपीसँग भने, “यो प्रयासले क्वालकमजस्ता अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने नयाँ प्रविधिक दिग्गजहरूको उदय गराउन सक्छ।”

चिनियाँ सरकार पनि आफ्ना कम्पनीहरूलाई विदेशी प्रविधिमा निर्भरता घटाउन दवाब दिइरहेको छ। हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रविधिको क्षेत्रमा आत्मनिर्भरता मजबुत बनाउन आग्रह गरेका थिए।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In