काठमाडौं : ९४ वर्षीय चर्चित अर्बपति लगानीकर्ता वारेन बफेटले सन् २०२५ को अन्त्यमा बर्कसायर ह्याथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । शनिबार ओमाहामा आयोजित कम्पनीको वार्षिक सेयरधनी बैठकमा बफेटले उक्त घोषणा गरेका हुन् । बैठकको समापनमा उनले बोर्डले चाँडै नै यो निर्णयलाई औपचारिकता दिने जानकारी पनि दिए । बफेटले भने, […]
काठमाडौं : ९४ वर्षीय चर्चित अर्बपति लगानीकर्ता वारेन बफेटले सन् २०२५ को अन्त्यमा बर्कसायर ह्याथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । शनिबार ओमाहामा आयोजित कम्पनीको वार्षिक सेयरधनी बैठकमा बफेटले उक्त घोषणा गरेका हुन् । बैठकको समापनमा उनले बोर्डले चाँडै नै यो निर्णयलाई औपचारिकता दिने जानकारी पनि दिए ।
बफेटले भने, “हामी भोलि बर्कसायरको बोर्ड बैठक गर्दैछौं । ११ जना निर्देशकमध्ये २ जना – मेरा छोराछोरीहरु हावी र सुसी –लाई मैले के कुरा राख्न गइरहेको छु भन्ने थाहा छ । बाँकीका लागि यो समाचार हुनसक्छ । तर मलाई लाग्छ, ग्रेग वर्षको अन्त्यसम्म कम्पनीको सीईओ बन्ने समय आएको छ ।”
ग्रेग एबेल, हाल बर्कसायर ह्याथवे इनर्जीका अध्यक्ष तथा सीईओ र सन् २०१८ देखि बर्कसायरको गैर–बिमा कारोबारका उपाध्यक्ष, कम्पनीको नयाँ प्रमुख बन्न लागेका हुन् । बफेटले उनलाई सन् २०२१ मै उत्तराधिकारीको रूपमा छनोट गरिसकेका थिए । यद्यपि, औपचारिक घोषणाले बैठकमा सहभागी धेरैलाई आश्चर्यचकित बनाएको थियो ।
लगानी संसारमा दीर्घकालीन रणनीतिका प्रतीक बनेका बफेटले बिदा लिने घोषणा गरेकै वर्ष, उनी सम्पत्तिमा कीर्तिमानी उचाइमा पुगेका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स अनुसार उनको हालको सम्पत्ति १६९ अर्ब डलर पुगेको छ, भने फोर्ब्सका अनुसार सन् २०२५ मे ३ सम्ममा १६८.२ अर्ब डलर अनुमान गरिएको छ । सन् २०२५ भित्र मात्र उनको सम्पत्तिमा १६.४ अर्ब डलरको वृद्धि भएको छ – जुन शीर्ष १० अर्बपतिहरूमध्ये सबैभन्दा ठूलो लाभ हो ।
जबकि अन्य अर्बपतिहरूले घाटा बेहोर्दैछन् – इलन मस्कको सम्पत्ति १३५ अर्ब डलरले, जेफ बेजोसको ४२.६ अर्ब र मार्क जुकरबर्गको २४.५ अर्ब डलरले घटेको छ । बफेट भने सावधानीपूर्वक प्रविधि र बैंकिङ क्षेत्रको हिस्सा घटाउँदै, नगद सञ्चय गर्दै, उच्च रिट दिने अमेरिकी ट्रेजरीमा लगानी गर्दै लाभमा रहेका छन् ।
बफेटको लगानी शैली सधैं धैर्य, विवेक र दीर्घकालीन सोचले परिचालित रहँदै आएको छ । उनले हालै सेयरधनीलाई लेखेको पत्रमा उल्लेख गरेका छन्, “अहिले केही पनि खासै आकर्षक देखिँदैन ।” यही कारण उनले नयाँ लगानीभन्दा नगद सुरक्षित राख्ने रणनीति रोजे । सन् २०२४ को अन्त्यसम्म बर्कसायरसँग ३३४ अर्ब डलर नगद थियो, जसलाई विश्लेषकहरूले आर्थिक अनिश्चितता विरुद्धको सुरक्षाको रूपमा हेरेका छन् ।
उनको लगानी दर्शन ‘जब अरु लोभी हुन्छन्, डराउनुहोस् र जब अरु डराउँछन्, लोभी बन्नुहोस्’ भन्ने भनाइले परिचित छ । सन् २०१८ मा सीएनबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, “मूल्यको उतारचढावले चिन्तित हुनेहरू स्टक नकिने नै बेस हुन्छ ।”
सन् २०२४ को अन्त्यसम्म बफेटले २६७ अर्ब डलर बराबरको स्टक पोर्टफोलियो सम्हालेका छन् । उनका प्रमुख लगानीहरू एप्पल, कोकाकोला, बैंक अफ अमेरिका, अमेरिकन एक्सप्रेस, सेभ्रन, अक्सिडेन्टल पेट्रोलियम, अमेजन लगायतका ठूला कम्पनीहरूमा छन् ।
त्यस्तै, जापानी ट्रेडिङ कम्पनीहरू – इटोचु, मित्सुबिसी, मित्सुई, सुमितोमो, मारुबेनी – र डोमिनोज पिज्जा लगायतका संस्थाहरूमा पनि लगानी गरिएको छ । दीर्घकालीन सोच भएका बफेट सधैं एउटै लगानीमा अडिग रहने होइनन्, उनले समयअनुसार रणनीति समायोजन गर्दै गएका छन् । यही लचिलोपनले उनलाई आजको उचाइमा पुर्याएको हो ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.